आत्म-प्रबोधन (कविता)
-समदर्शी काइँला
तरङ रङ
त रङ
त
र
ङ
मन म्याराथुन गतिमा दौडन्छ.......!
हुँदै भान, गम्भीर, स्वफैसला,अवचेतन
सानिक्षता, निख्लम ,असन्तुलन हुँदै
तरङ रङ
र, लगाउँछ समयको पोथ्रामा न्यानू गुँड !
ओथ्रा बसेर माउविचार अन्वेषणफुल कोरल्छ ।
धेरैदिन पछिको अन्वेषणफुलको
समुद्र मन्थनिदै निक्लेर
म आविष्कारको चिङ्ना कराउँछु-
यो फगत स्वप्नमरीचिकाको इलाका हो।
एरोप्लेनमा निदाएर ऐठन परेको रात!
नागबेले डाँडैडाँडा
नागफणी काँडैकाँडा
झि
र
र
हे
थें
म
महागर्तमा ।
झरें एक शर्तमा-
पहिला अन्तरिपको स्यानू डिलमा
हेर्दै दिगदिगन्त समुद्रको झिलमा
त्यो सांसरिक मुत्युको समुद्र !
भुलभुलैयाबाट-
सूनामी छेकारो काट्दै काट्दै
मतिर पर्तिर आइरहेछ..........
मनहरु लुन्जा भिजाउँदै भिजाउँदै
तरङ रङ
त रङ
त
र
ङ
मनभने उही म्याराथुन गतिमा दौडिबस्छ........!
मुमूर्षा !
अब हाम्रो भेट कहिल्यै हुँदैन
किनभने पूर्णेमा चम्चमाइरहेका
एकबगल स्निग्ध ताराहरु !
जमीनदेखि हेर्दा माथि देखें
एरोप्लेनमा चढेर हेर्दा झनमाथि देखें
र त्यसैरात लेखें एक कविता-
मैले खोजेको जिवन
ताराहरुको मन्जुलबस्तीभन्दा पनि माथि पो र' छ !
र ,धेरैदिन पछिको अन्वेषणफुलको
समुद्रमन्थनिदै निक्लेर
म आविष्कारको चिङ्ना कराउँछु-
यो फगत स्वप्नमरीचिकाको इलाका होइन पनि हो ।
0 YOUR SAYING ON THIS WRITING:
Post a Comment